नेपाली कांग्रेसको महामन्त्री पदको ४ हजार ९० मत गणना भएको छ । मतपरिणामअनुसार गगन थापाले २ हजार ६४४ मत सहित अग्रता लिइराखेका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले १ हजार ६८५ मत ल्याएका छन्। यस्तै, प्रकाशशरण महतले १ हजार ३५७, प्रदिप पौडेलले १ हजार २१७, मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन्।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।