१४९५ मत गन्दा गगन धेरै अगाडि, दोस्रो स्थानमा विश्वप्रकाशलाई पछ्याउँदै प्रकाशशरण

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामदेखिनै गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा विश्वप्रकाश शर्माले अग्रता बढाउँदै तेस्रो स्थानमा प्रकाशशरण महत आएका छन् । यसअघि लगातार तेस्रो स्थानमा रहेका प्रदीप पौडेल पछि परेका छन ।१४९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ९५५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ६६० मत पाएका छन् । प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन् । यस्तै डा. राजाराम कार्की भने ४६ मतसहित सबैभन्दा पुछारमा छन् ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार