कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

धनराजले २ मतले गच्छदारलाई पराजित गरे

कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।

खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१२१ मत पाएर विजयी भएका छन् । यस्तै धनराज गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
देउवा पक्षका विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त गरेका छन् । त्यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

 

यसपटक उपसभापतिको दौडमा देउवाको प्यानलबाट खड्कासहित गच्छदार, शेखर कोइराला समूहबाट गुरुङसहित चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाहले चुनावी प्रतिस्पर्धा गरेका थिए । महेश आचार्य भने स्वतन्त्रतर्फबाट उठेका थिए । बुधबार राती भएको मतगणनामा गुरुङले सुरुदेखि नै अग्रता लिएका थिए भने गच्छदार र गुरुङको कडा टक्कर चलेको थियो ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार