कांग्रेस उपसभापतिको मतगणना : २३ सय मत गन्दा को अगाडी ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना भइरहेको छ । अहिलेसम्मको धनराज गुरुङको अग्रता कायम छ ।

हालसम्म २३०० मतपत्र गन्दा अग्रतामा रहेका गुरुङले ९६० मत प्राप्त गरेका छन् । यस्तै डा. चन्द्र भण्डारी ८७०, पूर्णबहादुर खड्का ८४० र विजयकुमार गच्छदार ६६० मत प्राप्त गरेका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुनेछन् । कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् । त्यस्तै महेश आचार्यले पनि  उम्मेदवारी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा  मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार