नारायणगढ–मुग्लिन सडकमा पुल चौडा गरिने

पूर्वपश्चिम राजमार्गको मुग्लिन–नारायणगढ खण्डमा रहेका पुल चौडाइको काम अघि बढाइएको छ । झण्डै १२ मिटर चौडाइमा सडक विस्तार भएकोमा सडक विभागले पुल विस्तार अघि बढाएको हो । हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

३६ किमी लम्बाइको सो सडकमा रहेका १५ पुलमध्ये सात पुलको काम अहिले अघि बढिरहेको छ । पहिले रहेका पुल त्यही छाडेर त्यसको माथि वा तल्लो भागमा पुल बनाउन लागिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । निर्माण भइरहेकामध्ये सबैभन्दा लामो पुल सिद्धिदोभानको पुल रहेको छ । त्यसको लम्बाई ६५ मिटर छ । यो आवमा सेतीदोभान, खहरे खोला, जलबिरेलगायत पुल सकिने देखिएको आयोजनाले जनाएको छ । सो खण्डमा सडकको कालोपत्र गत वर्ष सम्पन्न भएको थियो ।

सो खण्ड आयोजनाले गत वर्ष भरतपुर डिभिजनलाई हस्तान्तरण गरेको थियो । यी पुलको काम दुई वटा ठेक्कामा भइरहेको प्रमुख रिमालले जानकारी दिए । तीन वर्ष पहिले पुल निर्माण शुरु भएको थियो । उनले भने, “सबै पुल अबको दुई वर्षमा सकिने गरी काम भइरहेको छ ।”

मुग्लिनबाट नारायणगढतर्फ लाग्दा केही अगाडि तीन पुल निर्माण गर्नुपर्ने भए पनि कठिन भूगोलका कारण निर्माण गर्न अप्ठेरो भएको प्रमुख रिमालले बताए । मुग्लिनबाट अगाडि चार पाँच किमी दूरीमा रहेका तुइन खोला पुल, किसिनजी खोला पुललगायत स्थानमा पुल निर्माण गर्दा असजिलो भएको उनको भनाइ छ । यहाँको भैगोलिक बनावट अप्ठेरो भएकाले अहिलेसम्म डिजाइन हुन सकेको छैन । यो स्थानमा सवारीसाधन रोक्न पनि नमिल्ने र भित्तामा पहिरो र ढुङ्गा काट्नु पर्ने भएकाले कठिन हुने उनले बताए । उनले भने, “छेउतिर नदी र भित्तामा चट्टान नै चट्टान भएकाले काम गर्न कठिन छ ।”

सबै पुलहरूको निर्माण कम्पनी आफैले डिजाइन गर्ने गरी (डिजाइन एण्ड बिल्ट) मार्फत निर्माण अघि बढाइएको हो । अरु सबैको डिजाइन सकिएर निर्माण भइरहेको र कतिको सम्पन्न हुने चरणमा पुगे पनि कठिन भूगोल भएका स्थानमा निर्माण व्यवसायीले डिजाइन फाइनल गर्न सकेका छैनन् । भूगोलकै कारण नारायणगढतर्फ पुल निर्माण गर्न गाह्रो नभएको तर मुग्लिनतिरको कठिन भएको प्रमुख रिमालले बताए । उनका अनुसार अहिले नौ पुलमा काम भइरहेको छ । अहिले काम भइरहेका र डिजाइनमा रहेका सबै पुल नै दुई वर्षमा सम्पन्न गरिने उनले बताए । निर्माण भइरहेका पुलमा निर्माण कम्पनीले नियमित काम गरिरहेको छ । ठेक्का सम्झौतामा ३० महिनाको अवधि थियो । उनले भने, “निर्माण भइरहेका कुनै पनि ठाउँमा व्यवसायीले ढिलाइ गरेको छैन र अरु विवाद पनि छैन ।”

सडक विस्तार गरिसक्दा सवारीसाधन गतिमा चल्न सक्ने र जामको समस्या नहुने अपेक्षा छ । नारायणगढ–मुग्लिन खण्डमा सडक बनिसके पनि निर्माणाधीन पुल सम्पन्न नहुँदा अझै पनि सवारीसाधन गतिमा चल्न सकेका छैनन् । सो खण्ड पार गर्न अहिले औसल ३० मिनेट लाग्ने गरेकामा सबै पुल सम्पन्न हुँदा १० मिनेट समय अझै कम लाग्ने उनले बताए । पुल निर्माण स्थलमा व्यक्तिगत घर र जग्गा नभए पनि वरिपरि टहरा छन् । उनले भने, “हामीले त्यहाँ भएका टहराहरू क्षतिपूर्ति दिएर हटाइरहेका छौँ ।”

सरकारले नागढुङ्गाबाट मग्लिन सडक पनि विस्तार गर्ने योजना बनाएको छ । सो खण्डमा सडक एशियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुनेछ । नागढुङ्गा–नौबिस, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरी तीन खण्डमा बिस्तारको योजना बनाइएको छ । यो सडक आगामी वर्षदेखि निर्माण शुरु हुनेछ । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तार सबैतिर गर्दै जाने योजना बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार