रमेश सिलवाललाई बर्खास्त नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

एमाले नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध सिलवाल सर्वोच्च गएका थिए ।

उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । सर्वोच्चले पुरानै अवस्थामा सदस्यसचिवका रूपमा काम गर्न तथा नयाँ नियुक्त सदस्यसचिव घिसिङलाई कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि १३ मंसिरमा घिसिङलाई मन्त्रिपरिषद्को निर्णयले सदस्य सचिवमा नियुक्त गरिएको थियो ।

सदस्यसचिव सिलवाल २३ असार २०७६ मा पहिलोपटक राखेप सदस्यसचिव नियुक्त भएका थिए । तर, राष्ट्रिय खेलकुद ऐन, २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः १२ साउन २०७७ मा नियुक्त गरेको थियो । गत १ कात्तिकमा उनलाई बर्खास्त गरिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार