प्रदेश २ को बैठक आज : प्रदेशको नाम प्रस्ताव गरिँदै

प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन् ।

उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता पाएपछि पहिलोपटक आह्वान भएको अधिवेशनमा प्रदेशसभाबाट पारित विधेयकमा रहेका त्रुटीहरू संशोधन र प्रदेशको नाम तथा राजधानी टुंगो लगाउने सरकारले तयारी गरेको छ ।

प्रदेश २ को नामाकरण र राजधानीको हालसम्म टुंगो लाग्न सकेको छैन । प्रदेशसभामा नाम र राजधानीको प्रस्तावमा बहुमत प्राप्त नहुँदा प्रस्ताव असफल भएको थियो । प्रदेशसभाको छैठौं अधिवेशनमा दोश्रोपटक नाम र राजधानीको प्रस्ताव ल्याइएको थियो ।

दोश्रोपटकको प्रस्तावमा राजधानीबारे छलफल भए पनि प्रदेशको नाममाथिको प्रस्तावमा छलफल हुन सकेको छैन । प्रदेश सरकारसँग बहुमत नहुँदा पहिलोपटकको नाम र राजधानीको प्रस्ताव असफल भएको थियो ।

तर यसपटक जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा(एस), माओवादी केन्द्र सहभागी भएपछि सरकारलाई दुईतिहाइ भन्दा बढी समर्थन छ । प्रमुख प्रतिपक्षी दल बनेको लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा(एस)ले भने मधेश प्रदेश नामप्रति विरोध जनाउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार