पाकिस्तानमा दिउँसै महिला सामाजिक कार्यकर्ताको हत्या

पाकिस्तानको कराँची सहरमा एक महिला सामाजिक कार्यकर्ताको छुरा प्रहार गरी हत्या गरिएको छ । उक्त आक्रमणमा लागुऔषध दुर्व्यसनी छिमेकीहरुको संलग्न रहेको प्रहरीले जनाएको छ ।

यो घटना मंगलबार कराँचीको हो। प्रहरीका अनुसार २४ वर्षीया सबा अस्लम घरबाट बाहिर निस्कदै गर्दा उनीमाथि आक्रमण भएको थियो । उनलाई समाजसेवी संस्था छिपा वेलफेयरको एम्बुलेन्सबाट अब्बासी शहीद अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मंगलबार दिउँसो १२ः३० बजे एम्बुलेन्स घटनास्थलमा पुग्दा सबा अस्लम भुइँमा लडिरहेको अवस्थामा भेटिएको छिपा वेलफेयरका एक कर्मचारीले बताए ।

सबा अस्लम घरबाट निस्किने बित्तिकै मोटरसाइकलमा आएका दुई जना नकाबधारीले धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

यस मामिलामा सबा अस्लमको परिवारले एफआईआर दर्ता नगरेकोले राज्य सरकारले नै यस हत्याको मुद्दामा एफआईआर दर्ता गरेको छ । न्यु कराँची निवासी सबा असलमले पाँच वर्षअघि अनिसा अस्लम वेलफेयर नामक संस्था स्थापना गरेकी थिइन्, यो संस्थाले प्रायः बालश्रम र विधवाहरूका लागि काम गर्छ । अस्लमको संस्थाले धेरै मेडिकल शिविरहरू आयोजना गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार