कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु गर्ने तयारी

नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट सुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्बाट मत गणना सुरु गरिने सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने छ ।

उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए । उनले भने, “आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।”

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो ।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार