कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४हजार ५६४ ले मतदान गरेका छन् ।

दिउँसो ३ः ३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका भएको हो ।

मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ । राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने भएको हो ।

यसअघि सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार