कांग्रेस सभापतिको मतदान अन्तिम चरणमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अन्तिम चरणमा पुगेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार करिब ४ हजार ४०० मत खसेको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा निर्धारित समयभित्र परिसरभित्र प्रवेश गरिसकेका सबैलाई मतदान गर्न दिइने समितिले जनाएको छ । समितिले अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको भए पनि प्राविधिक कारणले मतदानमा केही ढिलाइ भएको हो ।

यसअघि सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार