सभापति पदको चुनाव दोस्रो चरणमा, देउवाले पाएनन् बहुमत

प्रकाशमानको शर्त पुरा भए दोस्रो चरणमा देउवाले बाजी मार्ने

नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन् । कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ ।

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन ।

दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।

यस्तै एक्लै बहुमत ल्याउन नसकेपछि सभापतिका प्रत्यासीका रुपमा पहिलो चरणमा अग्रता लिएका शेर बहादुर देउवाले तेस्रो भएका प्रकाशमान सिंहसँग दोस्रो चरणका लागि संवाद थालेका छन् । प्रकाशमान सिंहको निवास चाक्सिबारीमा देउवाको सन्देश लिएर पुगेको नेता बालकृष्ण खाँडले दोस्रो चरणका लागि देउवालाई समर्थन गरेर जान गरेको प्रस्तावका सिंह सकारात्मक देखिएको स्रोतको भनाई छ । यसका लागि सिंहले केहि शर्त अघि सार्ने र यसलाई पुरा गर्ने बचन देउवाले दिएको अवस्थामा केहिबेरमा देउवा र सिंहबीच वार्ता हुने स्रोतका दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार