ओरालो प्रतिशतमा देउवा, ३८५ को मतान्तरमा पछ्याउदैं कोइराला

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ३ हजार ७ सय ३९ मत गन्दा देउवा र कोईरालाको मतान्तर ३ सय ८५ छ । प्राप्त बिवरण अनुसार देउवाको १ हजार ७ सय ९८ मत प्राप्त हुँदा कोईरालाको १ हजार ४ सय १३, सिंहको २ सय ८६, निधिको २ सय १ र कल्याण गुरुङको १९ मत छ ।

मतगणनाको प्राप्त नतिजा समिक्षा गर्दा शुरुवाती चरणमा ५० प्रतिशतले अग्रता गर्ने संकेत देखाएका कोईरालाको मतान्तर कम हुदै गएको छ । यसले पहिलो चरणबाटै सभापतिको टुंगो लाग्ने अनुमानलाई कमजोर बनाएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मत गणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार