प्रचण्डको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो

दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै किनेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो ।

जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ अंकको पहिरो गयो । १ बजेसम्ममा १ सय २ अंकसम्म घटेको सोमबारको सेयर बजार ७९ अंकले घटेर थामेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डको शनिबारको अभिव्यक्तिका कारण आइतबार पनि सेयर बजार ८८ अंकले ओरालो लागेको थियो । यद्यपि सोमबार उन एक कार्यक्रममा आफू साना लगानीकर्ताको हितको पक्षमा रहेको अभिव्यक्ति दिएपछि मंगलबार सेयर बजारमा सुधार हुने अपेक्षा गरिएको छ ।

अरू सामान्य रूपमा नै प्यानिक अवस्था रहेको पुँजी बजारलाई गलत अर्थ दिनेगरी प्रचण्डले अभिव्यक्ति दिएका कारण आइतबार र सोमबार गरी दुई दिनमा नेप्से सूचक १६८ अंकले घटेर २२८२ अंकमा झरेको छ । सोमबार दिनभरिमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । बजार पुँजीकरणका हिसाबले यी दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन् । सोमबार पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको छ ।

प्रचण्डले शनिबार एक कार्यक्रममा सेयर बजारमा लगानी गरिँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । सोमबार नेप्से परिसूचक ७९ अंक अर्थात् ३।३६ प्रतिशतले घटेर २२८२ बिन्दुमा रोकिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार