कांग्रेस निर्वाचनमा ६०० मत खस्यो, मतदान गर्न ५५ मिनेटसम्म लाग्ने

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा सोमबार दिउँसोसम्म ६०० मत खसेको छ । निर्वाचन समितिका सदस्य तेज रावलले दिउँसो २ बजेसम्म ६०० प्रतिनिधिले मतदान गरेको जानकारी दिए । मतदान निर्धारित समय ९ बजेभन्दा ढिला गरि मध्यान्ह १२ बजेदेखि सुरु भएको हो ।

कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ४७२३ जना महाधिवेशनले मतदान गर्नेछन् ।

सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् ।

मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जना भन्दा धेरै उम्मेदवार छन् ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार