सभापति उम्मेदवार देउवा, कोइराला र सिंहले गरे मतदान

नेपाली कांग्रेसको सभापति पदका उम्मेदवारहरू शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका छन् ।

काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा देउवाले सुदूरपश्चिम बुथ र कोइरालाले प्रदेश नम्बर १ को बुथबाट र सिंहले बागमती केन्द्रको बुथबाट मतदान गरेका हुन् ।

राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनीहरूले मतदान गरेका हुन् । सभापतिका लागि देउवा, कोइराला र सिंहबाहेक विमलेन्द्र निधी र कल्याण गुरूङले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन् । १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार