कांग्रेस महाधिवेशनः १३४ पदका लागि आज निर्वाचन

तीन मतदान केन्द्र कायम

नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । गत शुक्रबारबाट सुरु भएको महाधिवेशनमा आइतबार उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानको कार्यतालिका निर्धारण गरिएको छ ।

सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।

प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा निर्वाचन हुनेछ ।

तीन मतदान केन्द्र

सोमबार हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।

ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्नेछन् ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समिति सदस्‍य रावलले बताए ।

उनका अनुसार सोमबार हुने निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ।  मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार