शिक्षामन्त्री पौडेल कक्षाकोठामा प्रवेश गरेपछि…

पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय । आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे। मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन । मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षा कोठामा प्रवेश गरे ।

माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै थिइन् शिक्षिका प्रिति ढकाल। नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे ।

विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षा मन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोधे। गृहकार्य गरे/नगरेका बारेमा जिज्ञासा राखे। सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधैं समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताए ।

मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरूले मानेर अनुसाशित हुन आग्रह गर्दै केही समयमै कक्षा कोठाबाट बाहिरिए। राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उनले विद्यार्थीलाई सुझाए।

शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दिएनन्।

मन्त्री पौडेल एक्कासि विद्यालय निरीक्षणमा निस्किँदा र पछि मात्र मन्त्री आएको जानकारी पाएपछि शिक्षक विद्यार्थीले अचम्म माने । शिक्षिका ढकालले भनिन्, ‘शिक्षा मन्त्री विद्यालय आउनेबारेमा स्कुलमा कसैलाई पनि जानकारी दिएन। अन्य बेला पनि भिजिटर आउनुहुन्थ्यो, त्यही भएर कोही आउनुभयो होला भन्ने सुरूमा ठानेको थिएँ । शिक्षा मन्त्री नै कक्षा कोठामा पाएपछि त अचम्म भयौं ।’

शिक्षा मन्त्री पौडेलले विद्यालयमा जिम्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढङ्गले जिम्मेवारी निर्वाह भए नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आकस्मिक विद्यालय निरीक्षण गरिएको बताए ।

राजधानी काठमाडौंका केही विद्यालयमा पनि यसअघि यस्तै प्रकृतिको आकस्मिक निरीक्षण गरिएको जानकारी दिँदै उनले भने, ‘शिक्षक कक्षा कोठामा छन् कि छैनन् ? विद्यार्थीले पढेका छन् कि के छन् भनेर आकस्मिक निरीक्षण सुरू गरेका छौं। यसबाट कमजोरी फेला परेका खण्डमा सम्बन्धित व्यक्ति वा संस्थालाई सुधारका लागि आग्रह गर्ने गरिएको छ ।’

मन्त्री पौडेलले सामुदायिक विद्यालयमध्ये राम्रो पढाइ भएका र कमजोर पढाइ भएका गरी दुई श्रेणीमा विभाजन गरी निरीक्षण गरेर शिक्षण, विधि, प्रशासनिक अवस्थालगायत बारेमा अध्ययन गर्ने गरिएको जानकारी दिए ।

मन्त्री पौडेलले शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधार र शैक्षिक वातावरणका बारेमा जानकारी लिएका थिए । विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले शिक्षामन्त्री नै आएर निरीक्षण गर्दा आफूहरू गौरवान्वित भएको बताए । विद्यालयलाई सम्झेर विद्यालय परिसरभित्र मन्त्री प्रवेश गरेर उनलाई अवस्थाका बारेमा जानकारी गराउँदा खुसी लागको उनले बताए ।

उनले भने, ‘मन्त्रीलाई विद्यालयको समग्र पक्ष, शैक्षिक प्रगतिसहित विद्यालयका समस्याका बारेमा राख्ने अवसर मिल्यो। शिक्षक दरबन्दी समस्या समाधानमा उहाँले पहल गर्नुहोला भन्ने विश्वास छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार