काे बन्ला मा‍ओवादी केन्द्रकाे प्रदेश २ अध्यक्ष ?

माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा उद्घाटन भए पनि बन्दसत्र भने ३ पुसदेखि सुरु हुने भएको छ ।

प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये अहिले एक सय तीनवटा स्थानीय तहको मात्र अधिवेशन भएकाले र बाँकी स्थानीयमा विवाद रहेकाले प्रदेश अधिवेशनको बन्दसत्रको समय बढाइएको माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रह्लाद बुढाथाेकीले बताए । प्रदेश २ को कार्यसमिति दुई सय ७१ जनाको रहने उनले बताए ।

प्रदेश २ मा माओवादी केन्द्रको एक लाख ३० हजार सक्रिय रहेको बुढाथाेकीले जानकारी दिए । पार्टीकाे विधानअनुसार प्रत्येक दुई सय सक्रिय सदस्यमा एकजना प्रदेश अधिवेशन प्रतिनिधि छनाेट गर्नुपर्ने प्रावधान छ । यस हिसाबले माओवादीको प्रदेश अधिवेशनमा साढे ६ सय प्रतिनिध र केन्द्रीय सदस्यसहितका प्रतिनिधि रहेका छन् ।

माओवादी केन्द्रको बन्दसत्रको समय बढाइएपछि प्रदेश नेतृत्वको आकांक्षीहरू आ-आफ्नो टिमको तयारीमा लागेका छन् । अहिलेसम्म औेपचारिक रूपमा कुनै नेताले प्रदेश नेतृत्वको घोषणा नगरे पनि प्रदेश अध्यक्षमा आन्तरिक मामिला तथा सञ्चारमान्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथाेकी र अहिले प्रदेश सचिव रहेका श्रवण बरबरियामध्ये एक हुनेछन् ।

प्रदेश संगठनको जिम्मेवार पदमा रहेका व्यक्तिले पार्टीको केन्द्रीय कार्यसमितिमा नरहने व्यवस्था भएकोे अवस्था बुझेर मात्रै उम्मेदवारी दिने मनसायमा रहेको माओवादी केन्द्रका नेता झलकु यादवले बताए । ‘प्रथम प्रदेश अधिवेशन भइरहेकाले हामीले कुशल र सक्षम नेतृत्व चाहेका छौं,’ उनले भने, ‘प्रदेशमा हामी कमजोर अवस्थामा छौ, त्यसैले प्रदेशमा संगठन विस्तारदेखि पार्टीलाई सही दिशानिर्देश दिन सक्ने नेतृत्व चाहिएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार