धादिङमा माेटरसाइकल र स्कुटर ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

शनिबार साँझ बा४४प ९८३६ नम्बरको मोटरसाइकल र बा६३प ४८३४ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकलमा रहेका बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुक बहादुर चेपाङको ज्यान गएको हो ।

मोटरसाइकललाई ना६ख ७४९ नम्बरको ट्रकले समेत ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

दुर्घटनामा परि घाइते भएका सिद्धलेक गाउँपालिका-१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना भएपछि एक घण्टा गाडी आवतजावत बन्द भएको थियो । अहिले भने गाडी चल्न सुरु भइसकेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार