जब रामचन्द्र पौडेल रोए…

गरुंगो मन, मलिन अनुहार अनि, टिल्पिल आँखा । केहीबेर यताउति हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन ।’

पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो । त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भने, ‘हिजोसम्म मैले तपाईंहरूको संरक्षण गरें, अब आफैं गर्नुहोला ।’

पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बन्न नेताहरूबीच तँछाममछाड, दौडधुप, चलखेल र जोडघटाउ भइरहेका बेला झन्डै ६ दशक कांग्रेसको सक्रिय राजनीति गरेका वरिष्ठ नेता पौडेल भने ‘निराशा’ व्यक्त गर्दै थिए । चित्त दुःखाइरहेका थिए ।

पौडेलको अरूसँग नभै, ‘आफ्नै’ प्यानलका नेताहरूसँग चित्त दुःखाइ थियो, असन्तुष्टि थियो । पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न प्यानलको तर्फबाट साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव थियो । सबै मिले आफूले मान्ने, नभए आफूलाई साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव थियो । तर, पौडेलले सोचेजस्तो न साझा उम्मेदवार बन्ने स्थिति बन्यो, न त पौडेललाई नै ‘अन्तिम’ उम्मेदवार बन्ने मौका दिइयो । ‘प्यानल’ भित्रै तँछाडमछाड चलेपछि पौडेलले केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा भाग लिएनन्, उम्मेदवारी मनोनयन कार्यक्रममा पनि सहभागी भएनन् ।

झन्डै ६ दशक सम्पूर्ण जीवन कांग्रेसकै राजनीतिमा समर्पित गरेका वरिष्ठ नेता पौडेलका लागि पार्टीको ‘फस्ट म्यान’ बन्नका लागि मैदानमा उत्रिने यो ‘अन्तिम’ अवसर थियो । समकालीन देउवा पटक–पटक प्रधानमन्त्री र पार्टी सभापति बनिसक्दा पौडेल जहिल्यै दोस्रो स्थानमै चित्त बुझाउन बाध्य छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Loading...