काँग्रेसकी कान्छी केन्द्रिय सदस्य बन्ने दौडमा रहेकी खड्काको मनोनयन दर्ता

नेपाली काँग्रेसको जारी महाधिवेशनमा पुरानो र नयाँ पुस्ताको बहस पेचिलो बन्दै गएका बेला नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने विश्वाससहित २६ वर्षीय युवती केन्द्रीय सदस्यको दौडमा छन् ।
१४औ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी विनीता खड्काले शनिवार केन्द्रीय सदस्यका लागि आफ्नो  मनोनयन दर्ता गरेकी छन् ।
नेपाली काँग्रेसलाई माया गर्ने देशभरका युवाहरूको प्रतिनिधित्व गदै केन्द्रीय सदस्यका लागि खस आर्यतर्फको महिला कोटाबाट आफूले उम्मेदवारी दिएको खडकाले टिभी अन्नपूर्णलाई बताइन । अघिल्लो महाधिवेशनमा समेत देशकै कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा १९ वर्षको उमेरमा सहभागी उनले १४औ महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतले विजयी भएकी थिइन् ।
काँग्रेस केन्द्रीय कार्य समिति सदस्यमा उनी सम्भवतः सबैभन्दा कान्छी उम्मेदवार हुन् । देशभरका महाधिवेशन प्रतिनिधिको भारी मतसहित केन्द्रिय सदस्यमा विजयी हुने विश्वास लिएकी खडकाले काँग्रेसमा युवाको हस्तक्षेपका लागि अभियान चलाउँदै आएकी छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी रामेछापको सुनापति गाउँपालिकाबाट उपाध्यक्ष उम्मेदवार बनी दोस्रो स्थानमा आएकी थिइन् । जिल्लामा स्थापित राजनीतिक छवि बनाएका भुवन खडकाकी छोरी विनीता
१४ औँ महाधिवेशनमा २६ वर्षको उमेरमै सबैभन्दा कान्छी केन्द्रीय सदस्य बन्ने गरी प्रतिस्पर्धामा उत्रिएकी छन् ।
विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसको राजनीतिमा सक्रिय खडकाले अघिल्लै महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने योजनासहित राजनीतिमा सक्रियता बढाए पनि क्रियाशील सदस्यताको अवधि नपुगेकाले केन्द्रीय सदस्य बन्नबाट रोकिएकी थिइन ।
यस पटक भने नेपाली नेपाली काँग्रेसका देशभरका प्रतिनिधिको साथ सहयोग र समर्थनमा  केन्द्रीय सदस्यमा भारी मतले विजयी हुने उनको विश्वास छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार