काँग्रेसमा आज मनोनयन दर्ता, साेमबार मतदान

कुन पदमा कति जना निर्वाचित हुन्छन् ?

सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा शनिबार मनोयन दर्ता हुन लागेको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ता आइतबार हुनेछ भने सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

कांग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था विधानमा छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

कांग्रेसको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवाले फेरि दाबी गरेका छन् । उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ ।

यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् ।

त्यसबाहेक संस्थापन इतर पक्षबाट सभापतिका लागि साझा उम्मेदवारको खोजी भइरहेको छ । उक्त पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले दाबी गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार