जब मन्त्री आले विमानस्थल शौचालयको अनुगमन गर्न पुगे

पर्यटन नागरिक तथा उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमान स्थल पुगेर शौचालयको अनुगमन गरेका छन् । विराटनगर विमानस्थलमा पुगेका मन्त्री आलेले शौचालयको अनुगमन गरेका हुन् ।

विमानस्थल भित्र फोहोर देखेपछि उनी शौचालयको अनुगमन गर्न गएका थिए । शौचालय अनुगमन गर्दै उनले कार्यालयलाई सफा राख्न निर्देशन दिएका छन् । मन्त्री आउने भएपछि बिहानैदेखि कार्यालयको सरसफाइ गरिएको थियो । उनले फोहोर देखेपछि कर्मचारीहरूसँग रिसाउँदै कार्यालयको सौन्दर्यता बढाउनसमेत निर्देशन दिएका थिए ।

मन्त्री आलेले विराटनगर विमानस्थलमा कनभियर बेल्ट बनाउने आश्वासनसमेत दिएका छन् । प्रदेशको राजधानीमा रहेको विमानस्थल व्यस्त हुने गरेको र यात्रुहरूका झोलालगायतका अन्य सामाग्री दिँदा विभिन्न झन्झट बेहोर्नु परेको गुनासो कर्मचारीले सुनाएका थिए । कर्मचारीको गुनासो सुनेपछि मन्त्री आलेले कनभियर बेल्ट बनाउने आश्वासन दिएका छन् । स्टिमेट गरेर मन्त्रालय पठाउन समेत उनले कर्मचारीलाई निर्देशन दिएका थिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले विराटनगर विमान स्थलको स्तर उन्नतिको काम गर्ने बताएका छन् । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न भन्दै तीन वटै तहका सरकारबीच सम्झौता भएको डेढ वर्ष बितिसक्दा समेत निर्माणको काम सुरु नभइरहेका बेला मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् ।

२०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्डयन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विमानस्थल स्तरोन्नति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

विमानस्थलको धावन मार्गको लम्बाइ तीन हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जग्गा अधिग्रहणमा हुने खर्चको ५०/५० प्रतिशत साझेदारी गर्ने गरी सम्झौता गरिएको थियो । संघीय सरकारले ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले ५० प्रतिशत खर्चको व्यवस्थापन गर्ने गरी सम्झौता भएको थियो ।

सरकारले १२६ दशमलव ४६ बिगाहा जमिन अधिग्रहण गर्न जग्गा रोक्का समेत गरिसकेको छ । जग्गा रोक्का गरिए पनि मुआब्जा दिने विषय अगाडि बढेको छैन । मुआब्जा दिने रकमको जोहो नै नगरी सरकारले जग्गा रोक्का गरिदिए पछि पीडितहरू समेत आन्दोलन गरिरहेका छन् ।

मन्त्री आलेले भने सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले बजेट छुट्याउने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत हरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विराटनगर धनगढी र निजगढको कामका लागि बजेटको व्यवस्थापन गर्न भन्नु भएकोले बजेटको व्यवस्थापन गर्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार