बेलायतबाट फर्केर उद्यमी बन्दै गलकोटका भण्डारी

लगानीको अभावमा विदेश पुगेका नेपाली विदेशबाट फर्केर उद्यममा जोडिनेको लहर नै छ । नेपालमा लगानी जुटाउन नसकेका युवा विदेशमा गएर केही अर्थ उपार्जन गरेपछि भने नेपालमा फर्केर लगानी गर्न थालेका छन् ।

लामो समय बेलायतमा बसेका गलकोट नगरपालिका–३ हटियाका नरबहादुर भण्डारीले विगत ९ वर्षदेखि गलकोटमा आफ्नै उद्यम थालेका छन् । उनले गलकोट नगरपालिका–३ सिमखेतमा साढे पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती, पुष्प खेती, रेष्टुराँ र पार्टी प्यालेस व्यवसाय गर्दै आएका छन् । सिमखेतमा उनले २०६९ सालदेखि कृषि पेसा थालेका हुन् । पछि उनले रेष्टुराँ र पार्टी प्यालेस पनि सञ्चालन गरे । सुरुआतमा भण्डारी रोजगारीका लागि भारत गए । डेढ दशक भारतमा बिताएका उनी त्यहीँबाट केन्या पुगे । केन्यामा ११ वर्ष काम गरेका भण्डारी पुनः बेलायत फर्किए ।

तीन दशकको वैदेशिक यात्रा टुङ्ग्याएर भण्डारीले गाउँमै उद्यम थालेका छन् । उनले रु दुई करोड ५० लाखको लगानी गरिसकेका छन् । श्रीमती लोक कुमारी, छोरा भगवान र बुहारी राधिकाको सहयोगमा भण्डारीले विभिन्न उद्यम गर्दै आएका छन् । उनले तीन जनालाई रोजगारी प्रदान गरेका छन् । भण्डारीले थप तरकारी खेतीका लागि तीन रोपनी जग्गा भाडामा लिएका छन् ।

“पुष्प खेती गरेको छु, रेष्टुराँ र पार्टी प्यालेसलाई चाहिने सामग्री आफैँ उत्पादन गर्छु”, उनले भने । वैदेशिक यात्राका क्रममा निकै दुःख भोग्नु परे पनि स्वदेशमा फर्केर परिवारसँग रमाउन पाउँदा आनन्द महसुस भइरहेको भण्डारी बताउँछन् ।

Loading...