निकट नेताको राजनीतिक सुरक्षा खोज्ने रणनीतिमा सिटौला

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरूबिच गुटबन्दी र पदीय रक्षाको लडाई उत्कर्षमा पुगेको छ ।

सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकाङ्क्षी देखिदा पूर्वमहामन्त्री तथा अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्याशी कृष्णप्रसाद सिटौला भने आफू निकट नेताको व्यवस्थापनमा जुटेका छन् ।

कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको लिगेसी दाबी गर्दै शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिमा दाबी गरिरहँदा सिटौला भने सभापतिका अर्का आकाङ्क्षी देउवासँग नजिक रहेर पहिला आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन् ।

विगतमा सभापतिका उम्मेदवारका रूपमा आफूलाई उभ्याउँदै आएका सिटौला आकाङ्क्षी बढेसँगै सभापतिको दौडबाट पछि हटेका छन् । तर उनले आफूलाई समर्थन गर्दै आएका पूर्वविद्यार्थी नेता प्रदीप पौडेल, नेताहरू उमाकान्त चौधरी, शिवप्रसाद गुमागाईलगायतका दुई दर्जन बढी नेतालाई केन्द्रीय समितिमा अटाउने गरी सभापतिका आकांक्षीहरुसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् ।

महाधिवेशन उद्घाटनको दिनसम्म आइपुग्दा उनी वर्तमान सभापति शेरबहादुर देउवा निकट बसेर आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन् ।

आफू पक्षीय ३० जना नेतालाई देउवाको प्यानलबाट प्रतिस्पर्धा गराउनु पर्ने अडानमा रहेका सिटौलाले माग पुरा नभए महाधिवेशन उद्घाटनकै दिन सार्वजनिक रूपमा सभापतिमा दाबी गर्ने बताइरहेका छन् ।

तर देउवाले कम्तीमा २० जना सिटौला पक्षीय नेताको व्यवस्थापन गर्ने बचन दिइसकेको सिटौला निकट एक जना केन्द्रीय सदस्यको दाबी छ । सभापति नपाए सबैभन्दा बढी मतसहित उपसभापतिमै प्रतिस्पर्धा गर्ने चाहना सिटौलाको छ ।

तर देउवा समूह भित्रैबाट विजय गच्छदार, पूर्णबहादुर खड्काजस्ता नेतालाई देउवाले उपसभापतिको आस देखाएका कारण सिटौला सो पदमा आफू सुरक्षित नरहेको महसुस गरिरहेका छन् ।

‘सभापति छाडेर उपसभापतिमा जाँदा पनि देउवाले दुई जना नेतालाई उपसभापति बनाउने बचन दिइसक्नुभएको छ, त्यसकारण सिटौला आफू सभापति या पदाधिकारी बन्ने भन्दा आफू निकट नेताको व्यवस्थापनमै केन्द्रित हुनुहुन्छ,’ सिटौला निकट ती केन्द्रीय सदस्यले भने ।

देउवाको साथ छाडेर आफू निकट नेता जिताउन नसकिने र उपसभापतिमा दाबी गरेर कोइराला लिगेसीका नेतालाई चिढ्याउन नचाहने सिटौलाको रणनीतिका कारण पनि उनी अहिलेसम्म खुलेर बोलेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार