कांग्रेस महाधिवेशन : प्रदर्शनी मार्ग हुँदै चल्ने गाडीलाई डाइभर्सन

यसरी हुँदैछ सवारी चाप व्यवस्थापन

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।

दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनका लागि प्रतिनिधिहरु पुग्ने क्रम चलिरहेको छ । कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता आउने क्रम बढिरहेको छ । भृकुटीमण्डप आसपासका क्षेत्रमा चाप बढेको छ ।

भीड बढेपछि प्रदर्शनी मार्ग हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ । राष्ट्रिय सभागृहबाट र पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आवश्यक परे आसपासका अरु ठाउँमा समेत डाइभर्सन गरिने महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज सवारी चाप व्यवस्थापनका लागि मात्रै तीन सय ५० जना भन्दा धेरै ट्राफिक प्रहरी खटिएका छन् । झण्डा राखिएका गाडी, पार्टी अध्यक्ष र विदेशी पर्यवेक्षकका गाडीका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ ।

अन्य भीआईपीका गाडी राष्ट्रिय सभागृहमा राखिने छन् । महाधिवेशन प्रतिनिधिका गाडी खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्व भाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्रमा राख्न थालिएको छ । यस्तै, महाधिवेशनलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा आवश्यकता अनुसार सुरक्षा सतर्कता बढाएको छ ।

कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश गर्ने नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार