१२ देखि १७ वर्षसम्मका बालबालिकालाई पुस ४ देखि मोडर्ना खोप लगाइने

विद्यालयबाटै खोप लगाउने तयारी

बालबालिकाले आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई मोडर्ना खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको खोप शाखा प्रमुख सागर दाहालले विद्यालयबाटै खोप लगाउने गरी तयारी भइरहेको जानकारी दिए ।

उनले भने ,‘विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । त्यसका लागि केही मापदण्ड रहेर स्थानीय तहले खोप केन्द्र तोक्छन् ।’

हिमाली जिल्लाका लागि १०० भन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकि जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको प्रमुख दाहालले जानकारी दिए।

उनका अनुसार यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ । उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने लगाइने बताए ।

यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समुहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिइसकेको छ भने सोही समयमा कतिपय स्वस्थ किशोरकिशोरीलाई पनि फाइजर खोप दिइएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले बताए ।

नेपालमा गत शुक्रबार र आज गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ । आगामी आइतबार १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउने विभागको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले यसअघि, २८ जिल्लाका १६ हजार खोप केन्द्रबाट नियमित कोरोना खोप अभियान भइरहेको पनि जनाएको छ।

सरकारले तीन महिना पुरा भएका गर्भवतिहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेको छ।

नेपालमा खोप अभाव नभएको भन्दै सरकारले सबैलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन पनि अनुरोध गरेको छ।

बिहीबारसम्म नेपालमा कूल जनसंख्याको ३५‌.७ प्रतिशतले पहिलो र २९‍‍.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

Loading...