दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ र असारमा कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री हृदयेश त्रिपाठीले संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको र जेठ–असारमा उच्च विन्दुमा पुग्ने बताएका हुन् ।

उनका अनुसार मन्त्रालयले जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने आँकलन गरेको छ ।

मन्त्री त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम भएतापनि बन्दाबन्दीको स्थिति आउन नदिने नै प्रयास गरिरहेको बताए । ‘एक वर्षको अनुभव, तयारी र पूर्वाधार छ । त्यसलाई प्रभावकारी बनाइ बन्दाबन्दी हुन नदिने भन्ने प्रयत्न हो,’ त्रिपाठीले भने । अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको उनले बताए ।

उनले काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको जानकारी दिए । उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जनासम्म बस्ने होल्डिङ सेन्टर निर्माण गर्ने काम अघि बढिसकेको मन्त्री त्रिपाठीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार