बिनाकसुर ४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई ८ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

४० वर्ष भारतीय जेलमा बिताएका इलामको माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले आदेश दिएको छ।

अदालतले ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका तिम्सिनालाई क्षतिपुर्ति दिन बुधबार आदेश दिएको हो। न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई आठ लाख (पाँच लाख भारतीय रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको  छ।

उच्च अदालतले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको उनको मुद्दा हेर्दै गरेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिए।

हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई  गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो। बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएका थिए।

तिम्सिनालाई  जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार