हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको मृत्यु, रावत यसअघि पनि दुर्घटनामा परेका थिए

घना जंगल र कम भिजिबिलिटी दुर्घटनाको कारण

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चामाध्यमका अनुसार हेलिकप्टरमा रावतसहित उनकी पत्नि र वरिष्ठ सैन्य अधिकारीहरु गरी १४ जना सवार थिए । जसमा १३ जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ ।

दुर्घटनामा रावत गम्भिर घाइते भएका छन् । उनलाई वेलिंग्टनको मिलिटरी अस्पतालमा लगिएको छ । तर, उनको अवस्थाबारे कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन । यस दुर्घटनाको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिइएको छ । दुर्घटनाबारे बुझ्न रक्षामन्त्री राजनाथ सिंह कुन्नूर जाँदैछन् ।

समाचार एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो । हेलिकप्टर १२ बजेर २० मिनेटमा अवतरण स्थलबाट मात्र १० किलोमिटर पर हुँदा दुर्घटना भएको थियो । अहिले घटनास्थलमा चिकित्सक, सेनाका अधिकृत र कोब्रा कमाण्डोको टोली छ । ८५ प्रतिशत जलेकाले फेला परेका शवको पहिचान गर्ने प्रयास भइरहेको छ । पहाड मुनिबाट अझै केही शव देखिन्छन् । सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त र आगो लागेको देखिन्छ ।

ना जंगल र कम भिजिबिलिटी दुर्घटनाको कारण
स्रोतका अनुसार दुर्घटनाको कारण घना जंगल र कम भिजिबिलिटी रहेको बताइएको छ । प्रतिकूल मौसममा बादलमा भिजिबिलिटी कम भएकाले हेलिकप्टर कम उचाइमा उड्नुपरेको थियो । ल्यान्डिङ पोइन्टबाट केही टाढा भएकाले हेलिकप्टर पनि निकै तल उडिरहेको थियो । तल घना जंगल थियो, त्यसैले क्र्यास ल्यान्डिङ पनि असफल भयो। यस हेलिकप्टरका पाइलटहरू विङ कमाण्डर र सीओ दर्जाका अधिकारी थिए, त्यसैले मानवीय त्रुटिको सम्भावना नगण्य छ ।

प्रत्यक्षदर्शीले हेलिकप्टर आगोको गोला बनेको बताए । त्यसअघि निकै ठूलो आवाज सुनिएको थियो । हेलिकप्टर रुखमाथि खसेको थियो । त्यसपछि आगो लागेपछि त्यो आगोको गोला बनेको थियो । अर्का प्रत्यक्षदर्शीले आगोमा जलिरहेका मानिसहरु लडिरहेको देखेको बताए।

रावत यसअघि पनि हेलिकप्टर दुर्घटनामा परेको थिए । जनरल विपिन रावत यसअघि पनि एकपटक हेलिकप्टर दुर्घटनामा बाँचेका थिए । ३ फेब्रुअरी २०१५ मा उनको चित्ता हेलिकप्टर नागाल्याण्डको दिमापुरमा दुर्घटनाग्रस्त भयो। विपिन रावत त्यतिबेला लेफ्टिनेन्ट जनरल थिए ।

जनरल बिपिन रावत देशको पहिलो चीफ अफ डिफेन्स स्टाफ हुन् । जनरल विपिन रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको रूपमा सेवा गरेका थिए । उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए ।

एमआई-१७ कारगिलमा पनि प्रयोग गरिएको थियो, भारी बोक्न सक्ने
हेलिकप्टर जसमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल रावत सवार थिए, एमआई-१७ श्रृंखलाको हेलिकप्टर हो । यो हेलिकप्टर रुसमा बनेको थियो । भारतले सन् २०१२ देखि यसको प्रयोग गर्दै आएको छ । यो दुई इन्जिन भएको मिडियम ट्वीन टर्बाइन हेलिकप्टर हो । यो हेलिकप्टर यातायात र युद्ध दुवै भूमिका मा प्रयोग गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार