यसकारण कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भए अमरेशकुमार सिंह

नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा सांसदसमेत रहेका अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन् । सर्लाही–४ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका अमरेशसहित उनका प्यानलले हार व्यहोरेको हो । प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री रहेका वीरेन्द्रप्रसाद सिंहको प्यानलसँग अमरेश पराजित भएका हुन् ।

वीरेन्द्रको प्यानलमा रहेका महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू ५०० भन्दा बढी मत ल्याई विजयी हुँदा अमरेशले २४८ मत मात्र ल्याएर पराजय व्यहोरेका हुन् । वीरेन्द्रको प्यानलमा सुरेन्द्रप्रसाद सिंह ५१६ , विरेन्द्रप्रसाद सिंह ५१४ , राजेश्वरप्रसाद सिंह ५१४ , रघुवीर कार्की ५१३ मतसहित महाधिवेशन प्रतिनिधिमा ५०० भन्दा बढी मतका साथ २४ जना विजयी भएका हुन् ।

क्षेत्रीय अधिवेशनबाट सभापति पदमा रामआश्रय साह विजयी भएका छन् । शाहले ५१६ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरेन्द्र सहनीले २२० मत ल्याएका छन् । क्षेत्रीय कार्यसमितिमा साहकै प्यानल विजयी भएको छ । उनी मन्त्री वीरेन्द्रप्रसाद सिंह निकट हुन् ।

सर्लाही–४ का बलिया नेताका रूपमा चिनिएका अमरेश पराजित भएका हुन् । १३ औं महाधिवेशनमा क्षेत्रमा आफ्नो अनुकुल राजनीतिक अवस्था सिर्जना गरेका अमरेश संघीय संसदमा उम्मेदवारी दिँदा क्षेत्रका बलिया नेतामा पर्थे ।

उनलाई निर्वाचित गराएपछि विकास मात्र नभई स्थानीय स्तरले मुहार फेर्नेमा जनता विश्वत थिए । तर, संघीय सांसद भएपछि स्थानीय भोटर मात्र नभई कार्यकर्तासँग पनि दुरी बढाएपछि अमरेश विस्तारै अलोकप्रिय हुन् थाले ।

निर्वाचनमा स्थानीयलाई गरेका वाचा, विकासका कार्यमा उनको सहभागितालाई लिएर स्थानीयले उठाउने प्रश्न कार्यकर्ताले तेर्साउँदासमेत बेवास्ता गर्न थालेपछि उनको विकल्पक रुपमा वीरेन्द्र उदाएका हुन् ।

कांग्रेसले संघीय र प्रदेश सांसदको उम्मेदवारीका समयमा गरेको वाचालाई सकेसम्म सम्बोधन गरेपछि कार्यकर्तासँगै स्थानीय समक्ष पनि मन्त्री वीरेन्द्र लोकप्रिय हुँदै गए । क्षेत्र नम्बर ४ कै नेता श्याम कार्की नेता अमरेश आफ्नै दम्भको कारण आफ्नै क्षेत्रमै हारेको बताउँछन् ।

‘कार्यकर्ता र स्थानीयको अपेक्षाभन्दा पनि आफ्नै खुसी योजनाहरू ल्याउनु भयो । ती योजनाहरू केवल सम्पन्न नामका लागि मात्र भए । जसले उनी प्रतिको आश मात्र घटाएन, उनलाई अलोकप्रियसमेत बनाउदै गयो,’ नेता कार्कीले भने ।

उनले कार्यकर्तासँग दूरी बढाउँदाको परिणामले हारेको बताए । ‘अमरेशले कार्यकर्तालाई चिनेनन् । सम्पर्क गरेनन् । फोन उठाएनन् । समस्या बुझेनन्, त्यसैले महाधिवेशनमा कार्यकर्ताले पनि उनलाई चिनेनन्,’ कार्कीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार