३३ किलो सुन प्रकरण : पक्राउ परेको ३ दिनमै रिहा भए ‘गोरे’का लगानीकर्ता ‘काले’

३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त काले उर्फ कृष्ण गोपाल अग्रवाल रिहा भएका छन् । फरार रहेका अभियुक्त्त अग्रवाललाई मोरङ जिल्ला अदालतले मंगलबार २ लाख रुपैयाँ धरौटीमा छाडेको हो।

न्यायाधीश भरत लम्सालको इजलासले पक्राउ परेको ३ दिनमै  धरौटीमा रिहा गर्न आदेश दिएपछि तोकिएको धरौटी रकम बुझाएर मुद्दा पुर्पक्ष गर्ने गरी अग्रवाल रिहा भएका छन् ।

झापाको शिवगञ्ज स्थायी घर भएका अग्रवालाई दुबईबाट फर्कने क्रममा नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले गत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनी सुन प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ को व्यवस्थापनमा हुने सुन तस्करीको लगानीकर्ता मध्येका एक हुन् । उक्त प्रकरणमा प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि फरार थिए।

गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दा’मा उनी प्रतिवादी थिए ।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

उनले २०६९ सालदेखि सुनको अवैध कारोबारमा गोरेमार्फत काम गरिरहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार