गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, भाँचिए अध्यक्षका दाँत

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको बैठकमा सहभागीले बताएका छन् ।

त्यसक्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए । दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेको वेला विवाद भएको हो । उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै वेला नजिक आएर अपशब्द प्रयोग गरेपछि कुटेको बताएकी छिन् । उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् ।

‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरेँ र सोही क्रममा मैले कुर्सी पनि उठाएँ’ उनले भनिन, ‘गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै नराम्रो व्यबहार गरेपछि आफ्नो इज्जत जोगाउन मैले प्रतिवाद गरे’ ।

घटनाबारे बुझ्न खोज्दा अध्यक्ष मण्डल भने सम्पर्कमा आएनन् ।  उक्त गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार