खेतियोग्य जमिनको ६० प्रतिशत माटोमा अम्लियपनाको समस्या

बागमती प्रदेशको खेतियोग्य जमिनको ६० प्रतिशत माटोमा अम्लियपनाको समस्या देखिएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाले गरेको परिक्षणका क्रममा अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको हो ।

रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा समेत ह्रास आउन सक्ने प्रयोगशालाका उपसचिव डा जनार्दन खड्काले बताए । उनले कृषिचूनको मात्रा यकिन गरेर अम्लियपनाको समस्या समाधान गर्न सकिने बताए ।

त्यस्तै माटोमा ३ देखि ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्नेमा १ प्रतिशत मात्रै देखिएकाले पनि समस्या भएको उनको भनाई छ । उनले व्यवसायीक कृषि गर्ने किसानले समय समयमा माटो परिक्षण गराउनुपर्ने सुझाव दिएका छन् ।

उत्पादन बढी लिन र प्रयोग गर्न पनि सजिलो हुने भएकाले किसानले रासायनिक मलको प्रयोग अत्यधिक गर्ने गरेका छन् । जसले गर्दा माटोको ऊर्वरशक्तिमा ह्रास भई उत्पादनमा कमी आउँदै गएको प्रयोगशालाको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार