माओवादीको राष्ट्रिय सम्मेलन: प्रतिनिधिले खानेबस्‍ने व्यवस्था आफैँले गर्नुपर्ने (परिपत्र)

प्रतिनिधि शुल्क दुई हजार, यसरी छानिन्छन् प्रतिनिधि

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा लगभग एक हजार ५०० प्रतिनिधि सहभागी हुने भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै सम्मेलनमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने जानकारी दिएका छन् ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले खाने र बस्‍ने व्यवस्था आफैले गर्नुपर्ने परिपत्रमा उल्लेख छ । त्यस्तै, प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको परिपत्रमा लेखिएको छ ।

आवेदन शुल्कबारेमा पदाधिकारीको छुट्टै आवेदन शुल्क नलिने जनाएको छ । त्यसैगरी सदस्यताको शुल्क दाखिला गरेपछि पदाधिकारीको लागि बाँकी शुल्क मात्र लिने व्यवस्था मिलाउने परिपत्रमा उल्लेख छ ।

केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेवी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिहरुको नामावली (पार्टी सदस्यता नम्बर समेत उल्लेख गरी) मंसिर २९ गतेसम्म अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाई सक्नु पर्नेछ ।

पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था गरिएकोमा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ ।

८० वटासम्म पालिकाहरु भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सो भन्दाबढी पालिकाहरु भएका प्रदेशहरुमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १/१ जना सदस्य थप गर्ने परिपत्रमा उल्लेख छ ।

 

Loading...