शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताएका छन् ।

तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको आज २३औँ वार्षिकोत्सव समारोहमा उनले सबैको चासो भए मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने जिकिर गरे । शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षकलगायतको चासो र चिन्तन आवश्यक रहेकामा मुख्यमन्त्री पोखरेलले जोड दिए ।

“विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ”, उनले भने । गण्डकीलाई पूर्ण साक्षर घोषणा गरिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिइने बताए ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङलगायतले शिक्षालाई प्राथमिकता राखिएको बताए । सो अवसरमा क्याम्पसले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री पोखरेलले पुरस्कृत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार