एनआरएनए एनसिसि युएईद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना

भिजिट भिसा, सुन तस्करी, हुन्डी र अवैध नेटवर्क व्यापार युएईका मुख्य समस्या

युएई लगायत मध्यपूर्वका देशहरूको स्थलगत अध्ययनमा नेपालबाट आएका जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र एनटिभी न्युज कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक सरोज ओझालाई आइतबार एनआरएनए एनसिसी युएईले दुबईमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।

समाचार सङ्कलनका साथै मध्यपूर्वमा नेपालीहरूको सम्भावना र चुनौतीका बारेमा स्थलगत अध्ययनको लागी एक सातादेखी युएईमा रहेका पत्रकारहरूको सम्मानमा एनआरएनए एनसिसीले औपचारिक कार्यक्रम राखी स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा एनआरएनए आइसिसी मध्य पूर्व उप संयोजक मनोज गोर्खाली, एनआरएनए आइसिसी सदस्यहरू ठाकुर प्रसाद ढुङ्गाना, राजु केसी एवं नेत्र शर्मा, एनआरएनए एनसिसी युएईका कार्यवाहक अध्यक्ष निरञ्जन सिलवाल, एनआरएनए एनसिसी युएईका उपाध्यक्ष राजन ढुङ्गाना, कोषाध्यक्ष विकास शाही, एनआरएनए युएई युवा संयोजक मदन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा युएई र मध्यपूर्वका गैर आवासीय नेपालीहरूको समग्र अवस्था, एनआरएनए एनसिसी युएईका गतिविधि, श्रम ,रोजगार, रेमिटेन्स, अवैध नेटवर्क व्यापार, सुन तस्करी, हुन्डि, भिजिट भिसाको समस्या लगायत विविध विषयमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रियाका क्रममा एनआरएनए आइसिसी मध्य पूर्वका उप संयोजक मनोज गोर्खालीले नेपालका प्रतिष्ठित एवम् अग्रणी समाचार प्रदायक संस्थाबाट युएई एवं समग्र मध्यपूर्वका जल्दा बल्दा सवालहरूलाई लिएर भएको पत्रकारहरूको भ्रमण सफल हुनेमा कुनै दुविधा नरहेको उल्लेख गर्दै मध्यपूर्वमा स्वागत गर्न पाउँदा आफूलाई खुसी एवं गर्व लागेको बताए ।

साथै, उपसंयोजक गोर्खालीले एनआरएनएको निर्वाचनको मुखमा भएको पत्रकारहरूको भ्रमणलाई एनआरएनएले चासोपूर्वक हेरेको बताउँदै प्रवासी नेपालीहरूका साझा मुद्दा, एकता र भाइचारा अभिवृद्धिमा यस भ्रमणले सघाउ पुग्ने आशा व्यक्त गरे । गोर्खालीले एनआरएनएको जन्मदेखि नै सहकार्य गर्दै अगाडी बढेको जनसवाल राष्ट्रिय दैनिकसँग भविष्यमा पनि सहकार्य गरेर अगाडी बढ्ने बताए ।

उक्त कार्यक्रममा युएईका सफल व्यवसायी, एनआरएनए आइसिसी सदस्य ठाकुर प्रसाद ढुङ्गानाले नेपाल र नेपाली समुदायको हितमा निर्भीकता पूर्वक कलम चलाउँदै आएका व्यक्तित्वहरूको यस भ्रमणबाट सिङ्गो एनआरएनए परिवार निकै आशावादी रहेको उल्लेख गर्दै पत्रकारहरूलाई दुबईमा स्वागत गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए । युएईका सामाजिक गतिविधिहरूमा सक्रिय ढुङ्गानाले नेपालबाट आउने पत्रकार, कलाकार, राजनीतिक व्यक्तित्वलगायतलाई सधैँ सहयोग गरिरहेको र भविष्यमा पनि गर्ने बताए ।

कार्यक्रममा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेले मध्यपूर्वका देशहरूप्रति र ती देशमा रहने नेपालीहरूप्रति आफ्नो सम्मान रहेको बताए । बगालेले स्थलगत अध्ययनको सिलसिलामा कलमजिवी पत्रकारहरूको सम्मानमा एनआरएनए एनसिसी युएईले औपचारिक कार्यक्रम राखी स्वागत तथा अन्तरक्रियाको आयोजना गरेकोमा एनआरएनए एनसिसी युएईलाई धन्यवाद ब्यक्त गरे ।

उनले कावा अध्यक्ष निरञ्जन सिलवाल र उपस्थित कार्यसमितिका पदाधिकारी सहित मध्यपूर्व सहसंयोजक मनोज गोर्खाली, आइसिसी सदस्य ठाकुर ढुङ्गाना, राजु केसी, नेत्र शर्मालगायतलाई कार्यक्रममा उपस्थित भई आफ्नो भनाई राखेकोमा धन्यवाद ब्यक्त गरे । सो अवसरमा बगालेले युएई र मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरूको समग्र अवस्था, एनआरएनए आइसिसी मध्यपूर्व एवं एनआरएनए एनसिसी युएईका गतिविधि, वैदेशिक रोजगार, रेमिटेन्स, अवैध नेटवर्क व्यापारका नाममा भइरहेको ठगी, सुन तस्करी, हुन्डी, भिजिट भिसाका नाममा भइरहेको वैदेशिक रोजगारीको काम लगायत विषयमा आफुहरुको ध्यान केन्द्रित भएको र यसतर्फ सङ्घको ध्यान जानुपर्ने बताए ।

उक्त कार्यक्रममा एनआरएनए आइसिसी सदस्यहरू केसी एवं शर्मा, एनआरएनए एनसिसी युएईका कार्यवाहक अध्यक्ष सिलवाल, एनआरएनए एनसिसी युएईका उपाध्यक्ष राजन ढुङ्गाना, कोषाध्यक्ष विकास शाहीलगायत एनआरएनए पदाधिकारीहरूले नेपालबाट आएका पत्रकारहरूको सुझावलाई मनन गर्दै सहकार्य गरेर अगाडी बढ्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार