करिब २५ प्रतिशत नेपालीमात्र बीमाको पहुँचमा

बिमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य सुरू गरेको छ । प्रदेश तथा स्थानीय सरकारका कार्यक्रमहरूमा बीमालाई पनि सँगै जोडेर लगेमा पहुँच विस्तार हुने भन्दै छलफल थालेको हो ।

कृषि तथा पशु, लघु बीमा विस्तारका लागि प्रदेश र स्थानिय तहको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारका प्रतिनिधि र उच्च अधिकारीहरूसँग छलफल गर्न थालिएको समितिका प्रवक्ता निर्मल अधिकारीले जानकारी दिए ।

‘बीमाको पहुँच विस्तार गर्नका लागि प्रदेश र स्थानिय सरकारको भूमिका महत्वपूर्ण हुन्छ’, अधिकारीले भने, ‘त्यसैका लागि समितिले प्रदेश र स्थानीय तहमा लविङ गर्न थालेको हो ।’

गत साता बग्मती प्रदेशमा छलफल गरेको समितिले आइतबार प्रदेश १ का उच्च अधिकारीहरुसँग छलफल गरेको छ । यसअघि चालु आर्थिक वर्षमै समितिले दुई दर्जन स्थानीय तहहरूसँग समेत छलफल गरेको छ ।

घर तथा पूर्वाधार निर्माण गर्दा नक्सा पास, व्यवसायी दर्ता, प्रदेश तथा स्थानिय सरकारले व्यवसाय गर्नका लागि अनुदान दिँदा बीमा अनिवार्य गर्न समितिले आग्रह गर्दै आएको छ । घर, पूर्वाधार तथा व्यवसायका बीमा भएमा प्राकृतिक विपत्तीको अवस्थामा क्षतिपूर्तिको दायित्व सरकारलाई नपर्ने समितिले जनाएको छ ।

हाल संघीय सरकारले नै बजेटमा घोषणा गरी कृषि तथा पशुधनको बीमा गर्दा कुल प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था लागू गरेको छ । तर, सर्वसाधारणमा भने अझै सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमा, वैदेशिक रोजगारी म्यादी बीमा र बैैंकबाट ऋण लिनका लागि मात्र बीमा गर्ने प्रचलन बढी छ ।

समितिका अनुसार गत २०७८ असोजसम्ममा जनसंख्याको आधारमा २४ दशमलव ७६ प्रतिशत नेपालीहरूको पहुँचमा मात्र बीमा पुगेको छ । यसअवधिसम्मा जीवन बीमा कम्पनीले ९० लाख नौ हजार २७७ बीमालेख जारी गरी ३८ अर्ब १८ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यसैगरी निर्जीवन बीमा कम्पनीले सात लाख ३० हजार ९७७ बीमा लेख जारी गर्दै नौ अर्ब ६९ करोड बीमा शुल्क उठाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार