संसदीय सुनुवाइ समितिमा सांसदले भने- राजदूत नियुक्तिमा समावेशी भएन

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ ।

प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् ।

सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिन जरुरी भएको उनले बताइन् । ‘उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ,’ उनले भनिन् ।

यस्तै एमालेका सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा समावेशीबारे प्रश्न उठाएका छन् । उनले भने, ‘राजदूत नियुक्ति समावेशी छैन । समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं । अर्को बैठक बसेर सुनुवाइ अगाडि बढाउँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार