दोलखामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ घाइते

दोलखा जिल्लाको बिगु गाउँपालिका–४, लादुकको चार गोलाई भन्ने स्थानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो । गाडीमा सवारमध्ये ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका थापा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । उनीहरू सबै सिँगटी गाउँका हुन् ।

घाइते १८ जनामध्ये ८ जनाको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ भने १० जनालई थप उपचारको लागी काठमाडौँ ल्याइएको रिजालले जानकारी दिए । सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार