हिजोभन्दा म आज शक्तिशाली भएको छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेपछि आफू झन शक्तिशाली भएर आएको बताएका छन् ।

शनिबार चितवनको भरतपुरमा भएको प्रेस सेन्टरको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले प्रतिगमनको साथ छाडेर हिँडेपछि जनता आफ्नो पक्षमा आएको बताए । ‘हिजोभन्दा म आज शक्तिशाली भएको छु, जनता हामीसँग छन्, ओलीलाई घुँडा टेकाउन सफल भइयो’, उनले भने, ‘हाम्रो गठबन्धन बलियो भएको छ । गठबन्धन कदापी टुटदैन, ढुक्क भए हुन्छ ।’

अध्यक्ष प्रचण्डले भने, ‘नेकपा हुँदा ओलीभन्दा बाहेक कोही छैन भन्ने भएको थियो, तर अहिले त्यो अवस्था छैन, ओलीजी एक्लो हुनुभएको छ ।जनता अब हामीसँग छन्, त्यसैले अब ओलीजी होइन म शक्तिशाली भएको छुँ’, उनले भने ।

चितवनमा सम्पन्न भएको एमालेको महाधिवेशनलाई मण्डले शैलीको संज्ञा दिँदै अध्यक्ष प्रचण्डले भने ‘एमालेमा लोकतन्त्र छैन मण्डले शैली छ, एउटाले बोलेपछि अर्कोले बोल्न पाउँदैन ।’ एमालेको महाधिवेशनलाई उनले पञ्चहरुको भेलाको संज्ञा दिएकाा छन् । एमालेमा वैचारिक बहस हुन छाडेकाले चाँडै पतन हुने उनको दाबी छ ।

उनले अहिले पनि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी सलबलाइराखेका बताएका छन् । उनले भने, “कहीँ न कहीँ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत भ्रम छर्न सकिन्छ कि भनेर त्यो षड्यन्त्र अझै पनि जारी छ ।”

राजनीतिकरूपमा चितवन परिचित बन्दै गएको जनाउँदै उनले भने, “प्रचण्डलाई मन पर्नेले पनि चितवन रोज्ने भए, नपर्नेले पनि चितवन रोज्ने भए, मन परेर आउनेलाई पनि धन्यवाद मन नपरेर आउनेलाई पनि धन्यवाद ।” देशका सबै कम्युनिष्टबीचको एकता अझै पनि आवश्यक रहेको दाहालको भनाइ थियो । सच्चा र इमान्दार कम्युनिष्ट एकताबद्ध हुनुपर्ने उनले बताएका छन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरूबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पारेका छन् । महाअभियोग र एमसिसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशङ्का भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वानसमेत गरेका छन्। उनले छलफलबाट मात्र टुङ्गोमा पुगिने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार