पर्सामा कोरोनाविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने

पर्सामा कोरोना भाइरसविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ । ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मङ्सिर २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्लाभरी पूर्ण खोप लिन बाँकी रहेका १८ वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने गरी तयारी थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल १०२ वटा खोप केन्द्र रहेको जिल्लामा अभियानका लागि १० खोप केन्द्रसमेत थप गरिएको हो । आवश्यकताका आधारमा खोप केन्द्र थप गर्न सकिने कार्यालयले जनाएको छ ।

धेरैभन्दा धेरै नागरिकले खोप लगाउन भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको प्रजिअ ढकालले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माइस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको छ ।

पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्नेगरी तयारी गरिएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । “कोरोना भाइरसविरुद्ध खोप लगाएपछि सङ्क्रमणको जोखिम कम हुने र सङ्क्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने दर कम छ ।”

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले भेरोसेल र सिनोफार्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपकोसमेत सुनिश्चितता भइसकेको पत्र स्वास्थ्य कार्यालय पर्सालाई पठाएको छ । त्यसैले अभियानमा भेरोसेल, सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि प्रदान गर्नेगरी तयारी गरिएको छ ।

खोप अभियान सफल बनाउन स्थानीय तहले महिला स्वयंसेविकालाई घरघरमा पठाएर खोपबारेमा जानकारी गराउन लगाउने, अभियानका लागि तत्काल खोप पु¥याउन आवश्यक सामग्रीको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने, यसअघि भेरोसेल, सिनोफार्म खोपको पहिलो मात्रा लिएको र समय पुगेकालाई दोस्रो मात्रा खोप दिने, कोभिसिल्ड वा एस्ट्राजेनिका खोपको पहिलोे मात्रा लिएकालाई खोप आधारमा दोस्रो मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिने योजना छ ।

अभियानलाई अझ प्रभावकारी बनाउन कोभिड–१९ विरुद्धको खोपस्तरीय कार्यक्रम सञ्चालन मार्गदर्शन २०७८ बमोजिम निजी तथा गैरसरकारी अस्पतालमा पनि खोप सेवा सञ्चालन गरिने गरी तयारी गरिएको हो । वीरगञ्ज विर्तास्थित नारायणी सेन्ट्रल हस्पिटल आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मङ्गलबार र लिङ्करोडस्थित भवानी हस्पिटलमा बिहीबार खोप दिने व्यवस्था मिलाउने मिलाइएको हो ।

जिल्लामा एक लाख ३० हजार ६७२ जनाले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् । यो लक्षित जनसङ्ख्याको २९.६७ प्रतिशत हो । जिल्लामा १८ वर्षभन्दा माथिका चार लाख ४७ हजार जनसङ्ख्या छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार