सौताको छोरालाई विष खुवाएर हत्या गरी फरार महिला पक्राउ

सौताको छोरालाई विष खुवाएर हत्या गरी फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् ।

उनलाई १० वर्षीय निशान्त थापामगरको हत्या आरोपमा पक्राउ गरिएको हो । कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि उनले दुधमा विषादी मिसाएर खुवाएको प्रहरीले जनाएको छ ।

दुध खुवाएर कोठामा बस्दै गर्नु भनि उनी भारततर्फ गएको खुलेको प्रहरीले जनाएको छ । बालकको मृत्युपछि आफ्ना १४ वर्षीया छोरी र ८ वर्षीय छोरालाई लिएर भारततर्फ जाँदै गरेकी उनलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दूधमा मुुसा मार्ने औषधी मिसाएर खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रहरीका अनुसार मागीका श्रीमान बहादुर रोकाया कान्छी श्रीमती निर्मलासँगै भारतमा बस्दै आएका थिए । मागी भने आफ्ना दुई छोराछोरी र निर्मलाको छोरासँगै धनगढीमा बस्दै आएकी थिइन् ।

उनका आफन्तले कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको भएको दिन कात्तिक २९ गते श्रीमानसँग वादविवाद र झगडा भएको खुुलेकाले रिसको झोँकमा बालकको हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार