राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि कमल थापाले मनोनयन दर्ता गरेका छन् ।
शुक्रबार नेता–कार्यकर्ता र बाजागाजासहित राष्ट्रिय सभागृहमा पुगेर वर्तमान अध्यक्षसमेत रहेका थापाले पुनः नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
आगामी कार्यकालका लागि थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लडदैछन् ।
लिङ्देनले पनि यसअघि नै नेता कार्यकर्ताका साथमा बाजागाजासहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
संशोधित निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम तय भएको थियो । नयाँ नेतृत्वका लागि मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । जसबाट अध्यक्षसहित ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।