१ करोड २२ लाख ठगीको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

सामाजिक सञ्जालमार्फत १ करोड २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका- १० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका- १३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।

प्रहरी स्रोतका अनुसार उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा. बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई भण्डारी र भुजेल समेतको बैंक खाता नम्बरहरू प्रयोग गरेर ठगेको पाइएको छ ।

विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

हाल उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार