विधान संशोधन गर्न ५ सदस्यीय उपसमिति बनाउने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान संशोधनका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रवक्ता महराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए । उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताए ।

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि उनले बताए ।

प्रवक्ता महराले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नको लागि स्थायी कमिटीले अनुमति दिएको बताए । उनले राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपाङ्गहरुको हकहीत सुरक्षित गर्ने निर्णय गरिएको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार