न्युयोर्कमा एकैदिन पाँच जनामा ओमिक्रोन संक्रमण पुष्टि

अमेरिकाको न्युयोर्क सहरमा एकैदिन पाँच जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले सो कुराको जानकारी दिएका हुन् ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए । बिहीबार मात्र यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरुले दिएका छन् ।

गत नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका थिए । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो ।

त्यसैगरी बुधबार नै अमेरिकाको अर्को शहर मिनेसोटामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेको बताइएको थियो ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्निया, मिनेसोटा राज्य र न्युयोर्क सहरमा ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । यो भाइरस हप्ता दिनमात्र अघि दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको थियो । अफ्रिकामा गत नोभेम्बर ९ मा पहिलोपटक देखिएको यो भाइरस अहिले विश्वका करिब ३० वटा देशमा भेटिइसकेको छ ।

Loading...