केपी ओलीले नेतृत्व गरेको समुहसँग अरुको प्रतिस्पर्धा हुदैन : कृष्ण राई (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी नेकपा कानुनी र औपचारिक रूपमा विभाजन हुन बाँकी छ । तर दुवै समूहले आफैँलाई आधिकारिक समूह भएको दाबी गदै आएका छन् । यति बेला यो विषय निर्वाचन आयोगमा विचाराधीन छ । पार्टी सार्वजनिक रूपमै दुई समूहमा विभाजित हुनु पूर्व काठमाण्डौमा जबज पक्षधरहरूको भेला भयो । पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईको नेतृत्वमा भएको यही कार्यक्रमले नेकपामा विभाजनको रेखा कोरेको टिप्पणी समेत अहिले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा हुने गरेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर टिभी अन्नपूर्णले नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कृष्ण राईसँग पछिल्लो राजनीति र संसद्मा विचाराधीन प्रतिनिधि सभा विघटन विषयमा गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटाउनुभयो हैन ?
तपाईँले पार्टी फुटिसेका कुरा गर्नुभयो । म त , भन्छु पार्टी फुटेको पनि छैन र फुट्दैन पनि । म त राजनीतिको विद्यार्थी पनि हुँ । सबैभन्दा पहिले हामीले जीवन र जगतलाई बुझ्नुपर्छ । पार्टीमा स्वभाविक रूपमा दुई वटा धारबाट प्रभावित भएर बिचार र कार्यक्रम बन्न सक्छन् । व्यवहारिक रूपमा पार्टीभित्र केही समस्या अवश्य आएको छ । तर यो सबै पदको भागबन्डा नमिलेको अवस्थामा आएको देखिन्छ । पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल झलनाथ खनाल लगायतमा देखिएको लालचाको कारण नै अहिलेको परिस्थिति हो भन्ने मलाई लाग्छ ।

तपाई आफ्नै नेतृत्वमा काठमाण्डौमा जबज पक्षधरको एउटा भेलाको आयोजना भएको थियो । सोही भेलाले पार्टीभित्र विभाजनको रेखा कोरेको आरोप छ नि ?

त्यो जबज पक्षधरको भेला थिएन । मदन भण्डारीका बिचारलाई रक्षा गर्नका लागी स्थापित मदन भण्डारी फाउन्डेसनको कार्यक्रम थियो त्यो । तर हाम्रो पार्टी भित्रका केही नेताहरूले भण्डारीका बिचारलाई कुनै पनि ढङ्गले अघि बढ्न नसकोस् भन्नेहरूले यसलाई जबज पक्षधरको भेला गरेको आरोप लगाएको हो ।

तपाई पार्टीको जिम्मेवार नेता , त्यस्ता कार्यक्रम गर्दा पार्टीका सबै इमानदार नेता कार्यकर्ताले स्विकार्ने गरि किन गर्न सक्नुभएन ?

त्यो एउटा संस्थाले गरेको कार्यक्रम थियो । कम्युनिस्ट आन्दोलनमा पुँजीवादीहरूले लगाएको आरोप यस्तो अवस्थामा मदन भण्डारीका बिचार अझै सान्दर्भिक हुँदै गएकाले यसलाई जनताका बिचमा लैजान यस्ता कार्यक्रम हुने गरेका छ । तपाईँले उल्लेख गरेको त्यो कार्यक्रमको बारेमा जे जसरी बाहिर चर्चा गरियो यो गलत छ ।

तपाईँले यो भन्दै गर्दा अहिले पार्टीभित्रको पछिल्लो अन्तर्विरोधमा जबरजस्त जबजलाई पनि कारणका रूपमा अघि सारेका अवस्था पनि हो नि होइन ?

होइन, कहिलेकाहीँ कुनै घटना सडकमा देखियो भने त्यहाँ उपस्थित धेरैले घटनाको आन्तर्य नबुझेरै पनि आफ्नो बिचार अभिव्यक्त गर्ने गरेका अवस्था पनि हो । घटनाको परिवेश नबुझेरै यसरी दिने अभिव्यक्ति एक पक्षीय हुन पनि सक्छ । जनताको बहुदलीय जनवाद त ५९ सालको महाधिवेशनमा एमालेले कार्यक्रमका रूपमा अघि सारेको थियो । नवौँ महाधिवेशनमा यसलाई मार्गदर्शकका रूपमा अघि सारियो । नेपालको कम्युनिस्ट आन्दोलनमा यस्ता विभिन्न खालका कार्यक्रम आए तर यी सबै कार्यक्रम असफल भए तर जनताको बहुदलीय जनवादकै आधारमा चल्ने पार्टीले नै अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नेवाला छ ।

अहिलेको अवस्था कसरी सिर्जना भएको हो त ?

मैले माथि नै भनिसकेकी प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरू पद प्राप्तिको कुण्ठाले यस्तो अवस्था सिर्जना भएको हो । पार्टीमा एक खालको सहमति भएको थियो । पार्टी दुई अध्यक्ष मध्येका एक प्रचण्डले चलाउने सरकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चलाउने सहमति केही समय अघि पार्टीमा समस्या आएपछि भएको सहमति पनि हो । तर सहमतिको मसी सुक्न नपाउदैं उहाँहरूले पद प्राप्तिका लागी सरकारलाई पुरै घेराबन्दी पार्ने सरकारलाई घेराबन्दीमा पारेर असफल बनाउन थालेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

पार्टीको अध्यक्ष, ससंदले चुनेको प्रधानमन्त्रीले जे गर्दा पनि ताली बजाएर बस्नुपर्ने थियो हैन ?

होइन प्रधानमन्त्रीले त्यस्तो गरेको अवस्था नै होइन । होला कुनै केही नियुक्तिको विषयमा पार्टीका केही मान्छेलाई चित्त नबुझेको हुन सक्छ । तर, बाँकी सबै काम प्रधानमन्त्रीज्यू जुन गर्नुभएको छ यो सर्वसम्मतिले नै भएको छ । जन पक्षीय काम गर्नुभएको छ । बरु, सरकारले ल्याएका नागरिकता विधेयक, मिडिया बिधयेक, गुठी विधेयक लगायतमा पार्टीभित्रै प्रतिपक्षको भूमिका निर्वाह गरेको अवस्था पनि थियो । पछिल्लो समय एमसीसीको विषय पनि यसरी नै प्रधानमन्त्रीलाई जोडेर बदनाम गर्न खोजिएको पक्कै हो । तर, प्रधानमन्त्रीले त्यस्तो जे पनि केही गर्नुभएको छैन र होइन ।

यिनै झिना मसिना कारणले प्रधानमन्त्रीज्यूले यत्रो जनमतलाई फोहोरको टोकरीमा मिल्काई दिनुभएको अवस्था हो नि होइन फेरि तपाई संसद् विघटनको पक्षमा ताली बजाउनुभयो हैन ?

हैन, हामीले ताली बजाएका छैनौँ । तर, यसको पृष्ठभूमि बुझ्नुपर्छ की सरकारलाई यो बिचमा पुरै घेराबन्दीमा पारियो । सरकारले कामै गर्न नसक्ने भएपछि यस्तो गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । यसको विकल्प कुनै पनि बाँकी नरहेको अवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो ।

निर्वाचनको मिति घोषणा भइसकेको छ , अब तपाई निर्वाचनमा जाने हो होइन ? लाग्छ यस पटक सरकारले गरेका काम र प्रधानमन्त्रीको पछिल्लो कदमले जनताका बिचमा जाँदा जनताले फेरि विश्वास गर्ने छन् ?

हो, हामी अब निर्वाचनमा जानुको विकल्पै छैन । जनताको बहुदलीय जनवादका आधारमा पार्टीले आफ्नो कार्यदिशा तय गरिसकेपछि जनताको अविश्वासको कुरै आउँदैन । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जे काम भएका छन् यी उल्लेख्य हुन । पार्टीका कुरा गर्नुहुन्छ भने पनि हिजो झलनाथ खनाल, माधव नेपाल पनि पार्टी अध्यक्ष भएका थिए । जुन बेला पार्टी झन् कमजोर बनेर गयो तर ओली प्रधानमन्त्री भए लगत्तै पार्टी जुरमुराएर उठेको कुरा त कसैका माझमा छिपेको छैन नि होइन ?

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार