कर्णालीमा पौडेल पक्षले छान्यो सभापतिका उम्मेदवार

देउवा पक्षको अझै लागेन टुंगो

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलले कर्णाली प्रदेश सभापतिमा युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीलाई एकल उम्मेदवार बनाएको छ ।

पौडेल पक्षले बृहत छलफलपछि बिहीबार शाहीलाई उम्मेदवार उम्मेदवार बनाएको हो । पौडेल समूहले बिहीबार पत्रकार सम्मेलन गरी शाहीलाई प्रदेश सभापतिमा उठाउने जानकारी दिएको छ ।

कालीकोटका शाही नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष र तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका छन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कालीकोटबाट चुनाव लडेका शाही दुवैपटक पराजित भएका थिए ।

पौडेल पक्षले उम्मेदवार घोषणा गरिसक्दा संस्थापन (शेरबहादुर देउवा) पक्षभित्र भने आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । संस्थापन पक्षबाट दुई जना सभापतिका आकांक्षी छन् । जाजरकोटका राजिवविक्रम शाह र जुम्लाका ललितजंग शाही सभापतिको उम्मेदवारका लागि लविङमा छन् ।

दुई जनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरूले छलफल जारी राखेको र शुक्रबार बिहानसम्म टुंगो लाग्ने देउवा पक्षले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार